
काठमाडौं, २७ असार । दुई दिनअघि भएको सहमतिअनुरुप एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले पार्टी कार्यालयको स्वामित्व विवाद समाधानका लागि संयुक्त कार्यदल गठन गरेका छन् । आज बिहान मोहन वैद्यको निवास बानियांटारमा भएको प्रचण्ड–वैद्य भेटपछि संयुक्त कार्यदल गठन गरिएको हो ।
कार्यदलमा एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर महरा र अग्नीप्रसाद सापकोटा र नेकपा–माओवादीका तर्फबाट देव गुरुङ र हितमान शाक्यलाई समावेस गरिएको छ । विभिन्न स्थानमा सिर्जना भएको विवाद मिलाएर सम्भावित झडप रोक्न कार्यदल प्रभावकारी हुने माओवादी नेता गुरुङले प्रतिक्रिया दिए ।