काठमाडौं, १५ असार । बाह्र वर्षपछि पहिलोपटक सरकारले विद्युत् महसुल बढाउने भएको छ । साउनदेखि लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत मूल्य बढाइएको हो । विद्युत् निर्धारण आयोगले महसुल बढाउने निर्णय गरेको हो । आयोगले २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले तिर्नुपर्ने दर भने यथावत् राखेको छ । २० युनिटभन्दा बढी उपभोग गर्नेले बिजुलीको महसुल उपभोगका अधारमा बढी तिर्नुपर्ने छ । साउन १ गतेदेखि औसत २० प्रतिशतका दरले बिजुली महसुल बढेको जानकारी दिंदै आयोगका सदस्य पशुपति मुरार्काले महसुल बढेपछि विद्युत् प्राधिकरणको वार्षिक घाटा साढे ४ अर्बले घट्ने बताए । उनका अनुसार अहिले प्राधिकरणको वार्षिक घाटा ७ अर्ब छ भने पछिल्लोपटक २०५७ सालमा महसुल बढेपछि प्राधिकरणले महसुल वृद्धि गर्न सकेको थिएन । घरायसी प्रयोगमा अब २० युनिटसम्म खपत गर्ने ग्राहकले प्रतियुनिट ४ रुपैयां, २१ देखि ५० युनिटसम्म ७ रुपैयां ३० पैसा, ५१ देखि १ सय ५० युनिटमा ८ रुपैयां ६० पैसा, १ सय ५१ देखि २ सय ५० सम्म ९ रुपैयां ५० पैसा र २ सय ५१ भन्दामाथि प्रतियुनिट ११ रुपैयां
शुल्क लाग्ने छ ।