काठमाडौ, ६ असार । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । दिउँसो २ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीति, आन्दोलनका थप कार्यक्रम, पार्टीको नीतिलगायतका विषयमा आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले संबोधन गर्ने कार्यक्रम छ । हिजो पनि बसेको बैठकले राजनीतिक र संवैधानिक सङ्कट समाधानका लागि विभिन्न दलसँग वार्ताका लागि पहल गर्ने निर्णय गरेको थियो । झन्डै १० महिनापछि पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा हिजो बैठकमा सहभागी हुनुभएको थियो । भ्रातृसंस्थाहरूको विवाद समाधान भएपछि देउवा केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनुभएको हो । हिजो बसेको बैठकमा जनमत सङ्ग्रहबाट नयाँ संविधान बनाउनुपर्ने विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । अहिलेको सन्दर्भमा संविधानसभा ब्युँताउन सक्ने अवस्थामा नरहेकोले अब जनमत सङ्ग्रहबाट संविधान बनाउनुपर्ने उनीहरूको धारणा छ । यसैगरी डा. बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध आन्दोलनमा रहेको काङ्ग्रेस बैठकमा अब नयाँ प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।