सुदिप पन्त,क्यालिफोर्निया, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको लस्एन्जेलसमा जुन १७ तारिख बेलुका यहाँ स्थित नेवा अर्गनाइजेसन अमेरिकाको साउदर्न क्यालिफोर्निया च्याप्टरले एक भव्य कार्यक्रम गर्दै नेपाली साहित्य जगतका वरिष्ठ व्यक्तित्व एवम् सांस्कृतिविद् डा. सत्य मोहन जोशीलाई अभिनन्दन गरेको छ ।
नेपाली साहित्य क्षेत्रको मुर्धन्य व्यक्तित्व जोशीले सांस्कृतिक एवम् साहित्यिक क्षेत्रमा दिनु भएको योगदानको उच्च मुल्यांकन गर्दै अभिनन्दन गरिएको संस्थाले जनाएको छ । संस्थाको अध्यक्ष दिल बहादुर श्रेष्ठको सभापतित्वमा भएको सो अभिनन्दन कार्यक्रममा स्थानिय श्री पशुपती नाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, नेपाल अमेरिका एकता समाजकी अध्यक्ष उमा थापा, अमेरिका नेपाल सोसाइटी साउदर्न क्यालिफोर्नियाका अध्यक्ष रबिन्द्र प्रधान र मगर समाजका अध्यक्ष बखान थापाले अभिनन्दित श्रष्टा डा. सत्य मोहन जोशीलाई बधाई तथा शुभकामना दिनु भएको थियो।
रिजु महर्जनले सञ्चालन गर्नु भएको सो कार्यक्रममा आगन्तुक सम्पूर्ण अथितिहरुलाई शारदा श्रेष्ठले स्वागत गर्नु भएको थियो । त्यसै गरी नेवा अर्गनाइजेसन अमेरिकाको साउदर्न क्यालिफोर्नियाको उपाध्यक्ष नकुल श्रेष्ठले संस्थाको गतिबिधीबारे एवम् प्रमुख अथिति जोशीको जिवनी माथि संस्थाको कोशाध्यक्ष बिमल श्रेष्ठले प्रकाश पार्नु भएको थियो। हाल ९२ वर्ष पुग्नु भएको संस्कृतिविद् तथा साहित्यकार डा. जोशी नेपालको प्रतिष्ठित मदन पुरस्कारबाट तीन पल्ट सम्म विभुसित भईसक्नु भएको छ ।