‘जहाँ ईच्छा त्यहाँ उपाय’ त्यसै नेपाली समाजमा चलेको भनाई रहेनछ । मान्छेले अन्र्तमनले चाहयो भने जे पनि गर्न सक्दो रहेछ भन्ने उदाहरण बनेका छन्, ट्रेकिङ कुक कामे मगर ।
लामो समयदेखि ट्रेकिङ कुकको रुपमा पर्यटकहरुलाई कठिन र चुनौतिपूर्ण सुन्दरताको प्रत्यक्ष अनुभव गराउँदै जीवन गुजारा गर्दै आएका मगरको सानै देखिको आफ्नो पारिवारको आर्थिक विपन्नताले गर्दा पढन नपाएको पीडा अहिले आएर विपन्न बालबालिकाहरु मार्फत पुरा गर्दैछन् ।
ट्रेकिङ कुकबाट आएको सानो रकम मध्येको केही रकमबाट बाबु आमा नभएर दुख पाएका र पढन नसकेका बालबलिकालाई पढाउन सुरु गरेर उनले आफूले विपन्नताको कारण पढन नपाएको पिडा पोख्दैछन् यतिवेला काठमाडौ नारायणटारको नयाँ बस्तीमा बसेर ।
प्रारम्भमा केही मात्र बालबालिकालाई पढ्ने ब्यवस्था गर्दै आएका मगरले अहिले भने औपचारिक रुपकै सोलु बालकल्याण अनाथालय संस्था खोलेर सामूहिक रुपमै त्यस्तो काम गर्न थालेका छन् ।
उनको संस्थामा अहिले ९ बालिका र १३ बालक आश्रय लिएर खाने , बस्ने र पढ्ने काम गर्छन । झण्डै आठ वर्ष देखि अनौपचारिक रुपमा सेवा गर्दै आएका मगरको आश्रमलाई अहिलेसम्म कसैले पनि सहयोग गरेको छैन । उनी आफ्नो ट्रेकिङबाट आएको रकम मध्ये केही, पर्यटकहरुसँग ट्रेकिङको क्रममा लिएको सहयोग र आफन्तबाट आउने नियमित सहयोगबाट आश्रम सन्चालन गरिरहेका छन् ।
उनले आश्रममा राखेका बालबालिकाहरु अहिले कक्षा १० सम्मको पढाई गरिरहेका छन् । अब भने उनलाई ब्यक्तिगत प्रयासबाट आश्रम सन्चालन गर्न गाह्रो पर्न थालेको महसुस हुन थालेको छ ।
त्यसैकारण आफूले यात्रा गराएका फेन्च पर्यटकबाट सहयोग जुटाउने प्रयासमा छन् । यसकालागी उनी फ्रान्स जाँदैछन् । उनी भन्छन–मैले घुमाएका पर्यटकहरुले सहयोग गरौला भनेर फ्रान्स बोलाएका छन् । एक महिना फ्रान्स बसेर आश्रमकोलागी सहयोग जुटाएर अझै धेरै बालबालिकाको जीवन बनाउने योजनामा छु ।
उनले नयाँ बस्तीमै रहेको मेरिल्याण्ड स्कुलमा सबै बालबालिकालाई पढाउने गर्छन । पठपाठन देखि बसाई , खुवाईकोलागी उनले मासिकरुपमा ७० हजार रुपैया खर्च गरिरहेका छन् । उनी आफ्ना बालबालिका पढेर देशकै शक्तिशाली ब्यक्ति भएको हेर्न चाहन्छन ।